काग र कुकुर तिहार आज एकैदिन मनाइँदै

[sharethis-inline-buttons]

१७ कात्तिक, काठमाडौं । यमपञ्चक अर्थात् तिहारको आज दोस्रो दिन । काग र कुकुर तिहार एकैदिन मनाइँदैछ ।

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठो मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

बिहान त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

आज बिहान ७ः१४ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी तिथि लाग्छ । बिहानै कागलाई पूजा गरी मीठा खानेकुरा खान दिनुपर्छ । कागलाई विशेषगरी दही भात खुवाइन्छ ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष प्रा। डा। रामचन्द्र गौमतले बताउनुभयो । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने गरिएको हो ।

यस्तै इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ ।

कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।

आज बिहान ७ः१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले त्यसपछि कुकुरको पूजा गरी मीठा मीठा खानेकुरा खान दिनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रूपमा समेत स्थापित भएको छ । काग र कुकुरलाई यमदूतका रूपमा मानिन्छ ।


प्रकाशित : २०७८ कार्तिक १७ बुधबार