कल्याणपुर नगरपालिकाका शिक्षक आन्दोलित

[sharethis-inline-buttons]

विनय यादव
सिरहा । सिरहाको कल्याणपुर नगरपालिकामा तलब नपाएपछि शिक्षकहरू आन्दोलित बनेका छन् । चालू आर्थिक वर्षको सुरूदखि हालसम्म नगरपालिकाले शिक्षक कर्मचारीको तलबभत्ता नदिएको भन्दै नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीहरू आन्दोलित बनेका हुन् ।

सोमबार विहानैदेखि नगरभित्र सम्पूर्ण सामुदायिक विद्यालय बन्द गरेर नगरपालिकाको कार्यालय परिसरमा उनीहरु धर्ना बसेका छन् । नगरपालिकालाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै आन्दोलित हुनुपरेको शिक्षकहरुको भनाइ छ ।

चाडवाडका बेलासमेत तलबभत्ता नपाउँदा आफूहरु बिचल्लीमा परेको शिक्षकहरुको गुनासो छ । आज धर्ना बसेपनि यथाशीघ्र सुनुवाइ नभए अनिश्चितकालका लागि विद्यालय बन्द गरेर आन्दोलनका थप कार्यक्रम अघि सार्ने उनीहरुले चेतावनी दिएका छन् ।

नगरपालिकामा १९ वटा प्रावि, ४ वटा निमावि र ६ वटा मावि गरी जम्मा २९ वटा सामुदायिक विद्यालयहरु छन् । शिक्षकहरु आन्दोलित हुँदा पठनपाठन प्रभावित बनेको छ ।

कल्याणपुर नगरपालिकाले हालसम्म नगरसभा गर्न सकेको छैन । नगरसभा नहुँदा शिक्षक तथा कर्मचारीहरुलाई तलब खुवाउन गाह्रो भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जयप्रसाद दास बताउँछन् । जनप्रतिनिधिहरुको बीचमा कुरा नमिल्दा नगरसभा हुन नसकिरहेको उनको भनाइ छ ।

नगरपालिकाले हालसम्म पनि नगरसभा गर्न नसक्दा नगरपालिकामा अर्थसँग सम्बन्धित सबै कामकाज नै ठप्प छ ।


प्रकाशित : २०७८ कार्तिक १६ मंगलवार