
काठमाडौं । कर्णाली प्रदेश सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिएको राजीनामा स्वीकृत गर्दै आज साँझ साढे ७ बजेसम्म मुख्यमन्त्री दाबी गर्न आह्वान गर्नुभएको हो । हिजो महेन्द्रबहादुर शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि उहाँले नयाँ मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गर्नुभएको हो ।
प्रदेश सभामा कुनै पनि दलको स्पष्ठ बहुमत नरहेकाले मुख्यमन्त्री कलौनीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नेसक्ने प्रदेश सांसदलाई सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको छ ।
मुख्यमन्त्री शाहीले गठबन्धनको अर्को दल नेपाली काँग्रेसलाई सरकार गठन गर्नका लागि राजीनामा दिनुभएको हो । सरकारको नेतृत्व छाडेको माओवादी केन्द्रसमेतको समर्थनमा अब नेपाली काँग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवन बहादुर शाही मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।
यसैबीच प्रदेश १ मा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र राई मुख्य मन्त्री बन्नुहुने भएको छ । उहाँलाई आज प्रदेश प्रमुखले मुख्यमन्त्रीको सपथ गराउने तयारी भएको त्यहाँका सामुदायिक रेडियोले खबर पठाएका छन् ।