१५ कार्तिक,काठमाण्डौ ।प्रदेश १ को मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिने हुनु भएको छ । प्रदेश सभाको आज बस्ने बैठकमा उहाँले विश्वासको मत लिनुहुने भएको हो ।
यसअघि कात्तिक ७ गतेका लागि तय भएको बैठक प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले निवेदन दिएकाले आजका लागि सारिएको थियो।यसअघिकै बैठकमा उहाँको विश्वासको मतसम्बन्धी प्रस्ताव टेबल भइसकेको छ।
प्रदेश सभा सचिवालयले आजको बैठकको कार्यसूचीमा उक्त प्रस्तावमाथि छलफल र मत विभाजनको कार्यसूची तय गरेको छ।संविधानको धारा ११८ को उपधारा २ बमोजिम आफूमाथि प्रदेश सभामा विश्वास छ भनी उहाँले प्रस्ताव पेस गर्नुभएको हो । सरकारको नेतृत्त्वकर्ता एमाले विभाजन भएपछि आचार्य अल्पमतमा हुनुहुन्छ ।
एमालेका १० जना प्रदेश सभा सदस्यले एकीकृत समाजवादी रोजेका छन्।कुल ९३ सदस्य रहेको प्रदेश सभामा मुख्यमन्त्रीको पक्षमा ४१ जना सांसद मात्रै छन् ।
गठबन्धनमा काँग्रेस २१, माओवादी केन्द्र १५, एकीकृत समाजवादी १० र जसपा ३ जना गरी गठबन्धनमा ४९ जना सांसद छन्।सत्तारूढ गठबन्धनले यसअघि नै प्रदेश १ मा मुख्यमन्त्री परिवर्तन गर्ने भनेका छन्। हिजो बसेको गठबन्धन दलको बैठकले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।