
काठमाडाैं । बाँकेका नन्कुन्नी धोबीको मृत्युु र निर्मला कुर्मी बेपत्ता भएको घटनाबारे छानबिन गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । समितिले हिजो कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको हो । गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको प्रतिवेदन अब कार्यान्वयनका लागि पठाइने छ ।
छानबिन प्रतिवेदन बुझ्दै कार्यवाहक प्रधानमन्त्री खाँणले छानबिनबाट निकालिएको निष्कर्ष कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने बताए । समितिले प्रतिवेदनमा बाँकेको जानकी गाउँपालिका वडा नम्बर–२ नेवाजीका नकुन्नी धोबीको घटनामा जिल्ला प्रहरी कार्यालय बाँकेमा माताप्रसाद धोबीले रामकुमार धोबी र इतवारी धोबी भन्ने लक्षिराम धोबी उपर जाहेरी दिएको उल्लेख गरेको छ ।
जाहेरीपछि अनुसन्धान भएर दुवै अभियुक्त उपर बाँके जिल्ला अदालतमा ज्यान सम्बन्धी कसुरमा अभियोग पत्रमा पेस गरी गत भदौ १९ गतेको आदेशबाट अभियुक्तहरू पुर्पक्षका लागि कारागारमा थुनामा रहेको र हाल मुद्दा विचाराधीन रहेको समितिले उल्लेख गरेको छ । छानबिन समितिले हाल नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ र साविक परस्पुर गाउँ विकास समिति वडा नम्बर ९ निवासी निर्मला कुर्मी बेपत्ताको घटना चार बिघा १० कठ्ठा जग्गा हडप्ने नियतले भएको पनि उल्लेख गरेको छ ।
श्रीमान महलु कुर्मीको २०६२ सालमा मृत्यु भएपछि निर्मला दुई छोराहरूसँग बस्दै आएकी थिइन् । दुई छोराको २०६६ मङ्सिरमा १० दिनमा फरकमा स्वास्थ्यमा अचानक समस्या आएर उपचारका क्रममा मृत्यु भएपछि निर्मलाका श्रीमान महलु र जेठा छोरा रामसागरको नाममा रहेको घरजग्गाको लालपूर्जा र नागरिकता बादशाह कुर्मीले जिम्मा लएपछि घरजग्गा खानका लागि लालपूर्जा खोसेर लगेको भन्दै बादशाह कुर्मी इतरकाले चर्को विरोध र धर्ना गरेको प्रतिवेदनमा भनिएको छ ।
त्यसपछि बादशाहले विधिवत रूपमा जग्गाको लालपूर्जा जिल्ला प्रशासन कार्यालयमा बुझाएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।यो घटनामा समितिले बादशाहसहित ८ जना प्रारम्भिक चरणमा दोषी देखिए पनि बादशाह बाहेक अरु फरार रहेको प्रतिवेदनमा उल्लेख छ ।समितिले निर्मला कुर्मीको मुद्दामा सम्पत्ति खाने, हडप्ने नियतले कीर्ते जालझेल आदि भएको एवं बाँके जिल्लामा जग्गा किनबेच, हक, भोग, नामसारीलगायतमा छानबिन गर्न सम्बन्धित निकायबाट विज्ञसहितको टोली गठन गर्न सिफारिस गरेको छ ।