
काठमाडौं – जनकपुरका स्थानीय जनप्रतिनिधिहरुले मेयरको घरअघि फोहोर फाल्दै विरोध प्रदर्शन गरेका छन्। चाड पर्वमा समेत उपमहानगरपालिकाले सरसफाइ गर्नमा ध्यान नदिएको भन्दै मेयर लालकिसोर साहको घरअघि स्थानीय जनप्रतिनिधिहरुले फोहोर फालेर विरोध गरेका हुन्। उनीहरुले मेयर साहलाई पटक–पटक फोहोर व्यवस्थापनका लागि आग्रह गर्दा समेत कुनै चासो नदिएको आरोप लगाएका छन्।
वडा नम्बर–१ का वडाध्यक्ष शत्रुधन साह, वडा नम्बर–३ का वडाध्यक्ष दिपेन्द्र साह, वडा नम्बर–४ का वडाध्यक्ष सुदर्शन सिंह र वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहलगायकाहरुले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय अगाडि धर्ना समेत दिएका छन्।
प्रहरीले नगरप्रमुख साहको घर अगाडि फोहोर फाल्न नदिएपछि उनीहरुले उपमहानगरपालिकाको कार्यालय अगाडिको बाटो जाम गरेर धर्नामा बसेका थिए।