
काठमाडाैं । एएफसी २३ वर्ष मुनिको एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज लेबनानसँग प्रतिस्पर्धा गर्दैछ । ताजिकिस्तानस्थित रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने नेपाल र लेबनानबीचको खेल दिउँसो ४ : ४५ मा सुरु हुनेछ ।
नेपाल र लेबनानका लागि आजको खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ । किनकि दुबै टिम अघिल्ला दुई खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेका छन् । तर, लेबनानविरुद्ध मैदान उत्रदा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ ।
नेपाल जित निकाल्दै छनोटमा सुखद अन्त्य गर्न चाहन्छ । लेबनान पनि नेपाललाई हराएर छनोटको सुखद अन्त्य गर्न चाहन्छ । छनोटको समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको थियो । लेबनान पनि अङ्कबिहीन रहेको छ ।