
– मोहन सङ्ग्राम
अत्यन्तै सजग भएर
बर्षौदेखि
हिडिरहेको छ एउटा मान्छे
झोलामा देश बोकेर ।
उसलाई डर छ
अलिकती हल्लियो भने
रारा छचल्किन्छ
अलिकती निहुरियो भने
सरगरमाथाले बिझाउँछ
दाहिने गोजीमा राखेको टिष्टा कहाँ हरायो?
देब्रे गोजीमा राखेको काँगडा कहाँ खस्यो ?
ऊ हरेक पटक फरक–फरक जवाफ दिन्छ
घडीले दिने जवाफ जस्तो ।
झोलाबाट निकालेर एक खिल्ली युवाहरू
देशको नक्साजस्तै कागजमा बेर्छ
हात तन्काएर खातडीको आगोमा झोस्छ
हात खुम्च्याएर आँखा चिम्लेर चुस्छ
धुवाँ आफु लिन्छ खरानी झोलामा आधारित है
कहिलेकाँही
जब उसलाई थकाइ लाग्छ
झोलालाई अगाडि राखेर
बिश्राम लिन्छ मुलायम चौरमा
र झोलामा भगवानको चारो हालिदिन्छ ।
झोलाभित्र झगडा हुन्छ
आ–आफ्नो भगवानको लागि
जव झोलाभित्र
भगवानको रुची घट्छ
उसले एकमुठ्ठी पुर्खाको हड्डी बटुल्छ
र झोलाभित्र हुर्याउछ
फेरी घम्साघम्सी हुन्छ झोलाभित्र
आ–आफ्ना पूर्खाहरूको लागि
बेला बेला झोलाभित्र
नाकको उचाई
आँखाको आयतन
जिब्रोको गति
यस्तै विषयहरूमा झगडा हुन्छ
यो सब देखेर
उसलाई आनन्द महशुस हुन्छ
जस्तो कि
भर्खरै ठूलो युद्ध जितेर
ऊ पिपलको फेदमुनी श्वास लिईरहेको छ
जस्तो कि
बर्षौपछि भेटिएकी
आफ्नी प्रेमिकाको काखमा
ऊ निदाएको छ
झोलाभित्र गुञ्जिने बन्दुकको ध्वनी
उसलाई गीतजस्तो लाग्छ
झोला भित्र खेलिने रगतको होली
नाटक सम्झेर हेर्छ
झोलाभित्र सारंगी बज्यो भने
उसको कान पाक्छ
झोलाभित्र सेतो परेवा देख्यो भने
उसको सातो जान्छ
कुकुरलाई हड्डी देखाएझैँ
कुनै सुन्दर बस्तु देखाउँछ बाहिरैबाट
झोलाभित्र एकछिन ताली बज्छ
त्यो ध्वनीमा ऊ नाच्न थाल्छ
कहिले झोलाभित्र सानो प्वाल पारिदिन्छ
झोलाको एउटा कुना उज्यालो हुन्छ
अँध्यारोमा परेकाहरूले आन्दोलन गर्छन्
त्यो संगीतमा ऊ निदाउँछ ।
दक्षिणतिर उत्सव हुँदा
झोला उत्तर तिर फर्काउँछ
उत्तरतिर उत्सव हुँदा
झोला दक्षिणतिर कोल्टाउँछ
दुवैतिर शान्त भयो भने
गोजीबाट कालो चस्मा झिकेर
आँखामा लगाउँछ
शीर ठाडो बनाउँछ
हात माथी उठाउँछ
र मन्द हाँसो हाँस्छ
यसरी
छुट्टाछुट्टै अनुहारमा
फरक फरक हुलियामा
बर्षाै हिडिरहेछ एउटा मान्छे
झोलामा देश बोकेर ।