
मेघराज तामाङ
संखुवासभा : कार्तिक ८ गते साँझ बर्षासँगै परेको असिनाले संखुवासभाको खाँदबारी नगरपालिका-५ र चिचिला गाउँपालिका-२ मा ठूलो क्षति पुर्याएको छ । असिनाले कोदो, खुर्सानी र पाकेको धान नष्ट गरेको हो । खाँदबारी ५ भिरकुनामा ठूलो परिणाममा लगाईएको अकबरे खुर्सानी नष्ट भएको छ । एभरेष्ट अर्गानिक फर्म र दिनेश राईको फर्म, रामायण राई, सटकुमार राई र टिकाराम गुरुङले लगाएको खोर्सानी नष्ट भएको हो ।
एभरेष्ट अर्गानिक कृषी फर्म र दिनेश राईले संयुक्त रुपमा १५ रोपनीमा लगाएको १० हजार बोट खोर्सानी असिनाले झारेर नष्ट गरिदिएको छ । त्यस्तै, रामायण राईको २ हजार बोट र सटकुमार राईले लगाएको ५ सय बोटको अकबरे खुर्सानी नष्ट भएको हो । बोटमा बाँकी रहेको दानामा समेत प्राय सवैमा चोट लागेकोले तिनीहरू समेत नष्ट हुने देखिएको एभरेष्ट अर्गानिक कृषि फर्मका कृषि प्राविधिक गंगाराज कुलुङले बताए ।
खाँदबारी ४ का कृषक दिनेश राईसँगको साझेदारीमा उनीहरूले करिव ८ लाख रुपैयाँको लगानी गरेका थिए । करिब १५ रोपनी क्षेत्रफलमा रहेको १० हजार बोटबाट १५ देखि २० लाख रुपैयाँसम्म आम्दानी लिने लक्ष्य लिए पनि असिनाले नष्ट गरिदिएपछि उनीहरूको सपना चकनाचुर भएको उनी बताउँछन् ।
रामायण राईकोे २ हजार बोट र सटकुमार राईको ५ सय बोट खोर्सानी नष्ट भएको छ । यसैगरी असिनाले अन्न बाली र नगदेबालीमा पुर्ण रुपमा क्षतिको छ भने पाक्न लागेको धान परालमा परिणत भएको छ । गाउँपालिकाले मंगलबार क्षतिको विवरण संकलनका लागि अनुगमन गरेको थियो । खानलाई वर्षभरि पुग्ने धान असिनाले माटोमा मिलाईदिएपछि कृषकहरू चिन्तित बनेका छन् ।
असिनाबाट चिचिला गाउँपालिकाको वडा नम्बर २ मा सवैभन्दा बढी क्षति पुगेको छ । असिनाका कारण यस वडाका करिब ५ सय कृषकका बाली नष्ट भएको हो । धान उत्पादनको हिसावले राम्रो मानिने यस वडामा असिनापानीबाट पुगेको क्षतिको बिवरण गाउँपालिकाले तत्काल संकलन गरेर राहतको ब्यवस्था गर्ने चिचिला गाउँपालिकाका उपाध्यक्ष यदु कुमारी राईले बताए ।
यस बर्ष देशको सवैजसो क्षेत्रका कृषकहरुले मौसमी प्रभावका कारण क्षति ब्यहोर्नु परिरहेको छ । यहि क्रममा चिचिलामा समेत विभिन्न बालीहरु असिना पानीले नष्ट गरेपछी कृषकहरु चिन्तित छन् ।