चिचिला-३ सौरे : पुस्ता वित्यो तर विकास पुगेन

[sharethis-inline-buttons]

मेघराज तामाङ

संखुवासभा । संखुवासभाका एक गाउँका स्थानीयले पुस्तौदेखि विकासको अनुभुति नै गर्न पाएका छैनन् । चिचिला गाउँपालिका -३ स्थित सौरे गाउँ भूगोलको हिसाबले जति विकट छ त्यतिनै पछी छ विकासको गति । करिब ९ घर बसोबास रहेको सौरेबासीलाई देशले नागरिकता मात्रै दिएको छ । यसका बदला उनीहरूले दुर्गम बस्तीमा भोगी रहेको कष्टकर जीवन मात्रै छ । स्थानीय फुलमाया राई भन्छन् गाउँमा जान्ने बुझ्ने न भएकाले होला हामी सँधै हेपिन्छौं ।

उनीहरूका लागि भनेर विकासका आधारभुत आवश्यकताहरू कहिल्यै यहाँसम्म आइपुग्न सकेन । बरु सौरेमा आएका योजनालाई टाठाबाठाहरूले अन्तै सारिदिए । सौरे गाउँ प्रवेश गरेर डाँडा गाउँमा लैजाने भनीएको सडक पारी बाटै वडा नं. २ लेगेको दिवस राईको गुनासो छ । तर हामीले पटकपटक मागेको विकास पनि अरुले नै खोसिदिए, उनी भन्छन् ।

उनीहरूका आकांक्षा पनि धेरै छैन । बस्ः खानेपानी, विद्युत र सडक मात्रै पुगे उनीहरूले सुखको श्वास फेर्ने छन् । यो बस्ती बस्न थाले यता, यो गाउँमा करिब दुई दशक अघि ९ घरको लागि खानेपानी योजना आयो । तर २० वर्ष अघि घरसम्म पुगेको पानीको धारो अहिले २० ठाउँ मै चुहिएको छ । त्यसयता योजना माग गर्दा निवेदनमा लागेका मसी र कागज मात्रै खेर गइरहेको सन्त बहादुर राईले भने । उनै सन्त बहादुरको पहलमा २० वर्ष अघि खानेपानीय योजना यहाँ आएको थियो । शरिर पाको भएपछि कार्यालयसम्म धाउन समस्या भएपछि योजनाको लागि पत्याउनै छाडेको उनी दुखेसो पोख्छन् ।

गाउँसम्म आएको सिंहदरबारले गाउँको विकास गर्छन् भन्ने उनीहरूमा आशा थियो । सौरे गाउँलाई विकासको मुलधारमा पुर्‍याउँछु भनेर निर्वाचनमा होमिएकाहरूको ठूलै स्वर थियो । तर चार वर्ष वितिसक्दासम्म निर्वाचनमा हार व्यहोरेकाहरूको त कुरै छाडौं जितेकाहरू समेत झुल्किन सकेका छैनन् ।


प्रकाशित : २०७८ कार्तिक १२ शुक्रबार