
१२ कात्तिक, काठमाडौं । केहीदिन यता बिहान र बेलुका चिसो हुन थालेको छ । तापक्रम घट्न थालेपछि चिसो बढ्न थालेको छ ।
मंगलबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस थियो । बुधबार बिहान १३।५ डिग्री सेल्सियस थियो भने बिहीबार बिहान १२।५ डिग्री सेल्सियस मापन गरिएको थियो । आज उक्त तापक्रम घटेर १२.४ डिग्री सेल्सियसमा आइपुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मनसुन सकिएपछि पश्चिमी बायु सक्रिय हुने र उत्तरबाट हावा आउने भएकाले चिसो अनुभव हुने मौसमविद प्रतिमा मानन्धरले बताउँनुभयो ।
यसैबीच, आज देशका केही भागमा सामान्य वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही वाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही वाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।