प्रतिनिधि सभामा एमालेको अवरोध कायमै, अर्को बैठक कार्तिक २९ गते

[sharethis-inline-buttons]

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेले बिहीबार पनि प्रतिनिधि सभाको बैठकमा विरोध जनाएको छ । बैठकको सुरुमै यसअघि एमालेमा रहेका माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न दिएको पत्र सभामुखले कार्यान्वयन नगरेको भन्दै एमालेका सांसदहरूले विरोध जनाएका हुन् । एमालेका सांसदहरूले नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले सदन अवरुद्ध हुँदा सदनले गर्नुपर्ने कामहरू रोकिएको भन्दै सभा सञ्चालनका लागि सहयोग गर्न आग्रह गरे ।

सभामुखको आग्रहपछि पनि एमालेका सांसदहरूले नाराबाजीलाई जारी राखेपछि सभामुख सापकोटाले नियमित कार्यसूची अघि बढाएका थिए । बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानूनमन्त्री दिलेन्द्र बडुले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गरेका थिए । त्यस्तै बैठकमा सभामुख सापकोटाले सदनमा अनुपस्थितिको सूचनाहरू स्वीकृतिका लागि प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक कार्तिक २९ गते सोमबारसम्मका लागि स्थगित गरिएको छ ।


प्रकाशित : २०७८ कार्तिक ११ बिहीबार