१० कार्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अन्य न्यायाधीशहरु इजलासमा नबसेपनि आफू एक्लै बस्न मिल्ने गरी पूर्ण इजलासमा पेसी तोकेका छन् । प्रधानन्यायाधीशले तोकेको इजलासमा नबस्ने अन्य न्यायाधीशहरूले बताएपछि जबराले आफ्ना लागि ५ वटा मुद्दा राखेर पेसी तोकेका हुन् ।
प्रधानन्यायाधीश जबराले बुधबारका लागि आफूसहित वरिष्ठतम् न्यायाधीशहरु रहेको संवैधानिक इजलासमा पनि पेसी तोकेका छन् । यद्यपि अन्य न्यायाधीशहरूले पेसी बहिष्कार गर्ने गरी बिहान ११ : ३० बजे आन्तरिक छलफल डाकेका छन् ।
लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दा, सम्पत्ति शुद्धीकरणसम्बन्धी मधुकुमारी चौधरी विपक्षी रहेको मुद्दा, ज्ञानबहादुर जोगीको हकमा अम्बिका विश्वकर्माबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको मुद्दा, जिल्ला अदालत कास्की विरुद्धको बन्दी प्रत्यक्षीकरणको मुद्दा र कालो बजार तथा अन्य केही सामाजिक अपराधसम्बन्धी कसुरमा नेपाल सरकार विपक्षी रहेको रोशन जैसवालले दायर गरेको मुद्दा प्रधानन्यायाधीसले आफ्नै इजलासमा राखेका छन् ।