काठमाडाैं । विश्वव्यापी रुपमा तापमान वृद्धिको कारक हरितगृह ग्यासको मात्रा गत वर्ष वायुमण्डलमा अहिलेसम्म कै उच्च विन्दुमा पुगेको देखिएको छ । कोरोना भाइरसको महामारीका कारण विश्वका विभिन्न क्षेत्रमा भएको लकडाउनका बाबजुद वायुमण्डलमा हरितगृह ग्यासको मात्रा अधिक भएको देखिएको हो ।
संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको विश्व मौसम संगठनले हिजो जारी गरेको प्रतिवेदन अनुसार वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा औद्योगिक क्रान्ति पूर्वको अवस्थाको तुलनामा ५० प्रतिशत बढी भएको छ । तापमान वृद्धिमा सबैभन्दा ठूलो भूमिका रहेको हरितगृह ग्यासमा पर्छ कार्बन डाइअक्साइड ।
यस्तै मिथेन ग्यासको मात्रा वायुमण्डलमा सन् १७५० यता दोब्बर भन्दा बढीले बढेको विश्व मौसम संगठनले जनाएको छ । डब्लुएमओको प्रतिवेदन अनुसार सन् २०२० मा सबै प्रकारका प्रमुख हरितगृह ग्यास (जिएचजी) को मात्रा अघिल्लो दशकको तुलनामा तीव्र गतिमा बढेको छ । यस्तै यो क्रम यो वर्ष (२०२१) मा पनि जारी रहेको प्रतिवेदनमा उल्लेख छ ।