धानबालीमा भएको क्षति बारे सरकारले सातै प्रदेशका कृषि मन्त्रीसँग छलफल गर्दै

[sharethis-inline-buttons]

काठमाडौं । सरकारले आज सातै प्रदेशका कृषि मन्त्री र कृषि सचिवहरूसँग छलफल गर्दैछ । गत हप्ता आएको बाढीले बागमती बाहेकका ६ प्रदेशमा ८ अर्ब रुपैयाँ बढीको धानबालीमा क्षति गरेको प्रारम्भिक अध्ययनले देखाएको छ । यसको क्षतिपूर्ति वा राहत कसरी दिने भन्ने बारेमा आजको बैठकमा छलफल हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलका अनुसार प्रारम्भिक अध्ययनले बागमतीबाहेकका ६ प्रदेशमा ८ अर्ब २१ करोड बराबरको धानबालीमा क्षति गरेको देखाएको छ । १ लाख ७१ हजार ७६ क्षेत्रफलको धान खेतीमा असर गरेको तथा ७१ हजार ११ हेक्टर क्षेत्रफलको धान खेतीमा क्षति गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार देशभर २ लाख ६९ हजार ८४२ मेट्रिक टन धान बालीमा क्षति गरेको छ । सबैभन्दा धेरै लुम्बिनी प्रदेशको बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देहीमा मात्रै ४ अर्व ५१ करोडको क्षति भएको छ । यस्तै गण्डकी प्रदेशमा १३ करोडको धानबालीमा क्षति गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्रदेशस्तरमा तथ्याङ्क सङ्कलनमा समन्वय र सहजीकरणका लागि सातवटै प्रदेशमा एक एक वटा कार्यटोली गठन गरेको छ ।


प्रकाशित : २०७८ कार्तिक ९ मंगलवार