
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा न्यायिक विचलन, भागबन्डा, सौदाबाजी र भ्रष्टाचारमा संलग्न भएको भन्दै नेपाल बार एशोसियसन लगायतका सरोकारवाला सङ्घसङ्गठनले आज ध्यानाकर्षण गराउने भएका छन् । न्यायाधीशहरू सहभागी नभएपछि हिजोका लागि बोलाइएको सर्वोच्च अदालतको पूर्ण बैठक बस्न सकेन ।
हिजो प्रधानन्यायाधीश जबराले १३ न्यायाधीशलाई सातवटा इजलास तोके पनि उनीहरू इजलासमा बसेनन् । हिजो बसेको १३ न्यायाधीशको बैठकले आज बिहान साढे ११ बजे प्रधानन्यायाधीशलाई भेटेर निकास दिन आग्रह गर्ने निर्णय गरेको छ ।
सर्वोच्च बारको कार्यसमिति हिजोको बैठकले न्याय प्रशासन सञ्चालन गर्न प्रधानन्यायाधीश जबरा पूर्णरूपमा असफल र असक्षम भएको भन्दै निकासका लागि मार्गप्रशस्त गर्न आह्वान गरेको छ । नेपाल बार एशोसिएसनले आज बिहान ११ बजेका लागि सल्लाहकार समितिको बैठक बोलाएको छ । बारका सदस्य खिमानन्द अधिकारीका अनुसार बैठकले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्ने बारेमा छलफल गर्नेछ ।