
आशिष बहादुर सिंह
बेमौसमी वर्षाका कारण आएको पहिरोले अवरुद्ध बनेका सुदूरपश्चिमका चार जिल्लाका सडक सुचारु नहुँदा यात्रुहरु सास्ती भोग्न बाध्य छन् । बझाङ जिल्लामा सुचारु हुँदै आएको समिट एयरको जहाजमा जान पनि पार्टिको शिफारिस चाहिने स्थानियले आरोप लगाएका छन् । केही दिन अगाडी मात्र प्रधानमन्त्री शेर बहादुर देउवा, अर्थ मन्त्री जनार्दन शर्मा र संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आले बाढी पहिरोबाट भएको क्षतिको अवलोक गर्न सुदूरपश्चिम आएका थिए ।
त्यति बेला यातायात समस्या समाधानका लागी नेपाल वायुसेवा निगमको जहाज जहाज पठाउने मन्त्री आलेले बताएका थिए । त्यसपछि नेपाल वायुसेवा निगमको जहाजले उडान भरेपनि टिकट काट्ने सिस्टम पनि अस्तब्यस्त भएको छ । जसको सास्ती स्थानीयहरूले भोगी रहेका छन् । हजारौ यात्रु अलपत्र परी सदरमुककाम चैनपुर नजिकैको होटलहरूमा बसिरहेको स्थानीय अर्थजङ शाहीले बताए । राजनीतिक पहुँच र कर्मचारी संग चिनजान भएका लाई मात्र टिकट वितरण गरिएको स्थानीयहरूको आरोप रहेको छ । स्थानीय दिपक खड्काले राजनितीक पहुँच हुनेले मात्र जहाजको टिकट पाएको बताए ।
यता प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले दशै तिहारको बेला यात्रुहरुको भिड भएकाले समस्या भएको बताएका छन् । ‘दशै मनाउँन आएका कर्मचारी बिद्यार्थीको संख्या बढी भयो । सडक अबरोध भएकाले सवारी साधन सुचारु हुन सकेका छैनन् ।’ उनले भने ‘ कर्मचारी प्रयाप्त नहुँदा समस्या झ्न थपिएको छ ।’
प्रदेशका डोटी, डडेल्धुरा, दार्चुला र बझाङका विभिन्न स्थानमा आएको पहिरोका कारण अवरुद्ध बनेको मुख्य राजमार्ग सञ्चालन हुन नसक्दा सर्वसाधारणले सास्ती खप्नुपरेको हो ।सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वामदेव गौतमले डोटी र बझाङमा पहिरोका कारण सडक पूर्ण रुपमा ठप्प रहेको जानकारी दिए ।
उनका अनुसार केआईसिंह राजमार्ग अन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ को रडुवाखोला र गजरौलाको बीच भागमा करिब एक सय मिटर सडक पहिरोले भाँसिएकाले यातायात सेवा पूर्ण रुपमा बन्द रहेको छ ।सडक अवरुद्ध हुँदा डडेल्धुरासँगै तराईका कैलाली, कञ्चनपुरसहित अन्य पहाडी जिल्लासँग डोटीको यातायात सम्पर्क टुटेको छ । अहिले सडक खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
बाढी र पहिरोले बढी प्रभावित बझाङमा पनि पाँच ठाउँमा जयपृथ्वी राजमार्ग अवरुद्ध हुँदा यातायात सेवा सञ्चालन हुन सकेको छैन । जिल्लाको देउरा, नारिगौडा, छविसपाथिभरा गाउँपालिका–१ को जालीबगर, मौरीबगर र जयपृथ्वी नगरपालिका–७ को कचाली खोलामा सडक अवरुद्ध बनेको प्रहरी उपरीक्षक गौतमले बताए ।उनका अनुसार दार्चुलाको महाकाली नगरपालिका–५ किम्तडीमा पनि करिब १२ मिटर सडक भासिएको छ भने अहिले खुलाउने कार्य जारी छ ।
गत असारमा परेको अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध साँफे–मार्तडी सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । पहिरोले अवरुद्ध भएको साँफे–मार्तडी सडकखण्ड अन्तर्गतको अम्कोट क्षेत्रमा पुनः पहिरो जाँदा सडक खुल्न समय लाग्ने देखिएको छ ।
सोही सडकखण्डको बाजुगाड र बूढीगंगा नगरपालिका–३ को ताप्रिसेरामा समेत पहिरो गएपछि सडक अवरुद्ध हुँदा यातायता सेवा पूर्ण रुपमा बन्द भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयकाअनुसार सडक खुलाउन पहिरो पन्छ्याउने काम भइरहेको छ तर यातायात सेवा सञ्चालनमा आउन अझै केही समय लाग्न सक्छ ।
लगातारको वर्षापछि सडक सञ्जाल अवरुद्ध हुँदा पहाडी जिल्लामा सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ भने जटिल प्रकृतिका बिरामीलाई अस्पतालसम्म पु¥याउन नसक्दा अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता छ ।