कांग्रेस र कम्युनिष्ट फेल भइसके, अब जसपा नेतृत्वमा आउँछ : नेता यादव

[sharethis-inline-buttons]
सिरहा – जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेता तथा सांसद राजकिशोर यादवले नेपालमा कांग्रेस र कम्युनिष्ट फेल भइसकेको बताएका छन् । मिर्चैयामा आइतबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले यस्तो बताएका हुन् । जनताले पटकपटक मत दिएपनि कांग्रेस, कम्युनिष्टलगायतका दलले त्यसको दुरुपयोग मात्रै गरेको उनले बताए ।
वर्षौंवर्ष देशमा ती दलहरूले राज गरेपनि जनता र देशको अवस्था ज्यूँकात्यूँ रहनुले उनीहरू फेल भइसकेको उनको तर्क छ । ती दलहरूसँग कुनै पनि भिजन नभएको र संघीयतामा ती दलहरू असान्दर्भिक रहेको पनि उनले बताए ।
सबै पुराना दलहरूले जनताको मत लिएर ठग्ने काम मात्रै गरेको र देशलाई धारासायी बनाएको भन्दै अब ती दलहरूलाई बिर्सिन जनताले ढिला गर्न नहुने उनले बताए । उनले अब देशलाई जसपाले विकल्प दिने बताए ।
जसपाको जन्म नै देशलाई विकल्प दिन भएको भन्दै जनताले जसपालाई साथ दिनुपर्ने उनको भनाइ थियो । देशको समृद्धि र सुशासनको सपना, सबै समुदाय एवं वर्गको अधिकार र पहिचान तथा वास्तविक समाजवादको सपना जसपा मात्रैले पूरा गर्न सक्ने उनले दाबी पनि गरे ।
यस्तै, प्रदेशसभा सदस्य तथा पूर्वराज्यमन्त्री सुरेश कुमार मण्डलले पनि नेपालमा अब जसपाको विकल्प नभएको बताए । अझै पनि समाजमा त्यही ठग दलका एजेन्टहरू सक्रिय रहेको भन्दै जनतालाई सचेत हुन उनले आग्रह गरे ।
मिर्चैया नगर समितिको आयोजनामा भएको कार्यक्रममा सिरहा जिल्लाका विभिन्न स्थानीय तहका सयौं नेता कार्यकर्ताको उपस्तिथि रहेकोे थियो । सोही कार्यक्रमबाट तत्कालीन जनयुद्धमा अग्रमोर्चामा रहेर काम गरेका तर, पछिल्लो १० वर्षयता निष्क्रिय रहेका मिर्चैया ९ विष्णुप्रसाद यादवसहित २ दर्जन व्यक्ति जसपामा प्रवेश पनि गरेका छन् ।

प्रकाशित : २०७८ कार्तिक ८ सोमबार