पुनः मतगणनापछि विजयी भएका वडाध्यक्ष भन्छन् ‘धाँधली गर्नेलाई गतिलो जवाफ मिल्यो’

[sharethis-inline-buttons]

८ कात्तिक, काठमाडौं । महोत्तरीमा एक वडाको पुनः मतगणना गर्दा पराजित घोषणा गरिएका उम्मेदवार विजय भएका छन् । मनरा सिस्वा नगरपालिका १० को वडाध्यक्ष पदमा रमेश कुमार राय अदालतको आदेश अनुसार आइतबार पुनः मतगणना गर्दा विजय भएका हुन् । स्वतन्त्र उम्मेदवार रहेका रायले नेपाली काँग्रेसका उम्मेदवार अरुण चौधरीलाई दुई मतले पराजित गरेको उच्च अदालत जनकपुरका रजिष्टार खड्गराज अधिकारीले जानकारी दिए ।

उच्च अदालत जनकपुरले रायको पक्षमा मत परिणाम सुनाएपछि खुशीले गदगद भए । ‘उच्च अदालत जनकपुर र न्याय मुर्तीलाई धन्यवाद दिन्छु,’उनले अहोभाव दिँदै भने,‘यो सम्पूर्ण देशबासीको जित छ । देशमा अदालत, कानुन र व्यवस्था छ भन्ने अभास भयो । यो परिणामले मतगणना स्थलमा धाँधली गर्नेलाई गतिलो जवाफ मिलेको छ ।’ त्यति बेला मतगणना स्थलमा खटिएको निर्वाचन अधिकृतहरु पक्ष विपक्षमा हुँदा गलत परिणाम सार्वजनिक भएको उनको भनाई छ । ‘त्यतीबेला पनि म २ भोटले जितेको थिए,’उनले भने, ‘तर राष्ट्रसेवक कर्मचारीहरुले समान मत आएको भन्दै गोलाप्राथाबाट मनोमानी रुपमा नतिजा सार्वजनिक गरेका थिए । जहाँ म पराजित भएको सुनाइयो ।’ निर्वाचन अधिकृत अमबहादुर बाँनियाले आफुलाई परेको मत बालेट अर्को उम्मेदवारलाई दिएको उनको आरोप छ ।

‘विद्युत नभएको बेला यस्तो काम निर्वाचनमा खटिएको कर्मचारीले नै गरेका छन्,’उनले स्मरण गर्दै भने, ‘उनीहरुको नियत नै मलाई हराउनु थियो । १४३९ मत गणना गर्न ६ दिन भन्दा बढी लाग्यो ।’ आँफुले त्यती बेला फेरी पनि मतगणना गर्न भन्दा निर्वाचन अधिकृत बाँनियाले आलटाल गरेको उनको गुनासो छ । राजनीतिकर्मीकै निर्देशनमा त्यती बेला आँफुलाई हराइएको उनले शंका व्यक्त गरे ।

‘भ्रष्टाचार न्युनिकरण गर्छु’

अदालतले रायलाई निर्वाचित भएको घोषणा गरदिएपछि जनतलाई सेवा गर्न उनी आतुर छन् । ‘कानुन व्यवसायीको सल्लाह लिएर पदभार ग्रहण गर्छु,’उनले भने, ‘वडामा वर्तमान वडाध्यक्षले भ्रष्टाचारको जग गाडेका छन् । त्यो उखालेर फाल्छु ।’ किसान र जनताको भावना अनुसार काम गर्ने समेत उनले बताए ।

न्याय पाउन किन ढिलो भयो ?
०७४ असोज २ गते स्थानीय तहको निर्वाचन भयो । एक हप्तापछि नतिजा सार्वजनिक भयो । त्यस लगत्तै १५ दिन भित्रै कानुन व्यवसायीको सल्लाह अनुसार उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गराए । करिव एक वर्षपछि उच्च अदालतले मुद्दाको सुनवाई गर्दै फैसला सुनायो । ०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दिएको थियो ।

उच्च अदालतको आदेशपछि निर्वाचित घोषणा भएका उम्मेदवार चौधरी सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतले करिव तीन वर्ष मुद्दाको सुनवाई नै गरेन । सर्वोच्चले ०७७ चैत ६ गते उच्च अदालत जनकपुरको आदेशलाई सदर गरिदियो । उच्च आदलतलाई सदर गरेको पनि ६ महिना भन्दा बढी भयो । त्यसयता राय नियमित अदालत धाँइरहको थिए । ०७८ असोज १० गते उच्च अदालतले पुनः मतगणना गर्ने समय तोक्यो । सोही अनुसार आइतबार मतगणना गरिएको थियो ।

 


प्रकाशित : २०७८ कार्तिक ८ सोमबार