७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बेमौमसी वर्षापछिको बाढी, पहिरो तथा डुबान पीडितका लागि विशेष प्याकेजको घोषणा गर्ने बताएका छन् । बाढी पहिरोग्रस्त क्षेत्रको अवलोकनका क्रममा आइतबार इटहरी पुगेका प्रधानमन्त्री देउवाले बेमौसमी वर्षाबाट भित्र्याउने बेला भएको धानबाली नष्ट भएको उल्लेख गर्दै किसानहरुको पीडामा मल्हम लगाउने काम सरकारले गर्ने बताएका हुन् ।
‘अहिलेको अवस्था बुझेको छु, काठमाडौं गएर छिट्टै राहत प्याकेज घोषणा गर्नेछौं, साधन स्रोत मागेरै भए पनि अहिलेको अवस्थामा पीडितहरुलाई सहयोग जुटाउँछौँ, बाढीपहिरोले धेरै नोक्सान गरेको छ ।’ प्रधामन्त्री देउवाले भने ‘अहिले धानबालीमा धेरै क्षति भएको छ, त्यो समस्यालाई समाधान गर्नका लागि पनि हामी किसानलाई ऋण उपलब्ध गराउँछौँ ।’