आजदेखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

[sharethis-inline-buttons]

७ कात्तिक, काठमाडौं । सरकारले आजदेखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत आज र भोलि दुई दिन भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने स्वास्थ्य सेवा विभाग अन्तर्गतको पोषण शाखाले बताएको छ ।

शाखाका प्रमुख डा.केदार पराजुलीले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि सबै जिल्लामा सामग्री पठाइसकिएको भन्दै आवश्यक सबै तयारी पनि पूरा भएको बताउनुभयो । यसवर्ष भिटामिन ‘ए’ २७ लाख बालबालिकालाई खुवाइने छ भने जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने पनि पराजुलीले जानकारी दिनुभयो ।

मन्त्रालयले सूचना जारी गर्दै बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन जाँदा आवश्यक स्वास्थ्यका मापदण्डलाई पालना गर्न पनि आग्रह गरेको छ । सरकारले हरेक वर्ष ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्ष देखि ५ वर्षको बालबालिकालाई जुकाको औषधि खुवाउँदै आएको छ ।


प्रकाशित : २०७८ कार्तिक ७ आईतवार