
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज नेपाल बार एसोसिएसनका पदाधिकारीले भेट्ने भएका छन् । सर्वोच्च अदालतमै बिहान साढे १० बजे बारको टोलीले जबरालाई भेट्न लागेको हो । प्रधानन्यायाधीश जबराका बारेमा आइरहेका पछिल्ला विवादित विषयमा प्रस्ट हुन आफूहरूले भेट्न लागेको बार एसोसियसनका अध्यक्ष चन्डेश्वर श्रेष्ठले बताउनुभयो ।
प्रधानन्यायाधीश जबराका कारण सिङ्गो न्यायपालिका नै बदनाम भएको भन्दै पूर्वन्यायाधीश र कानुन व्यवसायीहरूले छानबिन हुनुपर्ने माग गर्दै आएका छन् । बारका अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशलाई भेटेपछि पछिल्ला विषयमा आफ्नो धारणा बनाउने बताउनुभयो ।
शुक्रबार बसेको बारको बैठकले सर्वाेच्चमा स्वचालित पेसी प्रणाली सुरु गर्न १५ दिनको अल्टिमेटम दिने निर्णय गरेको थियो । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धका रिटमाथिको आलटाल, मन्त्रिपरिषद्मा भागबन्डा खोजेको, विवादित फैसला गरेको गरेको आरोप लागेपछि प्रधानन्यायाधीश जबरामाथि पद छाड्न चौतर्फी दबाब परेको छ ।