७ कात्तिक, काठमाडौं । प्रदेश नम्बर–१ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वास मत लिँदै छन् । यससम्बन्धी प्रस्ताव प्रदेशसभाको शुक्रबारको बैठकमा आचार्यले टेबुल गरेका थिए । प्रस्तावउपर छलफलका लागी सभामुख प्रदीपकुमार भण्डारीले आज साढे १२ बजे नवौं तथा हिउँदे अधिवेशनको चौथो बैठक बोलाएका छन् । छलफलपछि मुख्यमन्त्रीले जवाफ दिनेछन् । त्यसपछि मत विभाजन सुरु हुनेछ ।
विपक्षी गठबन्धनबीच भएको सहमतिअनुसार प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्ने छन् । उनलाई मुख्यमन्त्री बनाउन दलीय गठबन्धनले प्रस्ताव गरेपछि सदनमा विश्वासको मत लिनुपर्ने हुन्छ ।
प्रदेश १ मा सरकार गठन गर्न ४७ जना सांसद चाहिन्छ । एमाले विभाजन भएपछि पार्टीका ५१ मध्ये १० सांसद एकीकृत समाजवादीतिर लागेका छन् । प्रदेशसभामा जम्मा ९३ सांसद छन् ।