
काठमाडौँ – नेकपा एमालेले आज देशभरि एकैसाथ करिब छ हजार वडा कमिटीको अधिवेशन गरेको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढी, पहिराका कारण केही जिल्लाबाहेक करिब छ हजार वडा कमिटीको अधिवेशन आज गर्न थालिएको जानकारी दिए ।
वडा कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित ३१ जना निर्वाचित भएका छन् । गाउँपालिका र नगरपालिकामा ३१ सदस्यीय कमिटी, उपमहानगरपालिकामा ४१ सदस्यीय कमिटी र महानगरपालिकाका वडा कमिटीमा ५१ सदस्यीय कमिटी निर्वाचित हुनेछन् ।
कमिटीलाई ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । देशभरि छ हजार ७४३ वडा रहेका छन् । उनले बाढी, पहिराका कारणले रोकिएको अधिवेशन एक हप्ताभित्र गर्ने बताएका छन् । देशैभरिका वडा अधिवेशनको उद्घाटनको मन्तव्य पार्टी मुख्यालयबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।
एमालेले राष्ट्रिय महाधिवेशनको तयारीस्वरुप आज पहिलो चरणमा वडा कमिटीको अधिवेशन गरेको हो । एमालेले वडा अधिवेशन सकेर यही कात्तिक ९ गते पालिका अधिवेशन गर्ने छ । एमालेको आगामी मङ्सिर १० देखि १३ गतेसम्म १० औँ राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ ।
सुनसरीमा विवाद
सुनसरी जिल्लामा देखिएको पार्टी विवादले वडा वडामासमेत अधिवेशन हुन सकेनन् । जिल्लाका दुई हरिनगरा र बर्जु गाउँपालिकामा बाढीले तहसनहस पारेपछि अधिवेशनको मिति सारिएको छ । तर धरान उपमहानगरमा भने पार्टीभित्रको अन्तरसंघर्षले चारवटा वडामा अधिवेशन हुन नसकेको हो ।
केन्द्रमा भएको १० बुँदे सहमतिअनुसार पार्टी चल्नुपर्ने अडान लिएका स्थानीय नेताले वडा अधिवेशनमा आफ्नो वर्चश्व कायम राख्न पनि अलग अलग अधिवेशन सम्पन्न गरेका हुन् ।