प्रधानमन्त्री देउवा भोलि इलाम आउने

[sharethis-inline-buttons]

भगीरथ भण्डारी

इलाम – प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिक ७ गते आइतबार इलाम आउने भएका छन् । बाढी–पहिरोको क्षति अवलोकन गर्न देउवा इलाम आउन लागेको हुन । मौसमले साथ दिए प्रधानमन्त्रीले सूर्योदय नगरपालिकादेखि सुरु गरी पश्चिमी गाउँहरूसम्म पुगेर बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको बताईएको छ ।

‘प्रधानमन्त्री देउवाले हेलिकप्टरबाटै बाढी–पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्ने प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए । प्रधानमन्त्री इलाम आउने तालिका बनिसकेको छ । तर मौसम कस्तो हुन्छ प्रधानमन्त्रीकोे भ्रमण त्यसमा भर पर्ने प्रजिअ खड्काको भनाइ छ ।

अविरल वर्षापछि आएको बाढी–पहिरोका कारण इलाममा एकैघरका ४ सहित १४ जनाको मृत्यु भएको छ । पहिरोले पुरेर १२, खोलाले बगाएर र रुखले किचेर १–१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परी २ बेपत्तो रहेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार फाकफोकथुम गाउँपालिकामा एकैघरका ४ सहित ६ जनाको मृत्यु भएको हो । फाकफोकथुम १ की ३० वर्षीया बिना शेर्मा, १४ वर्षे आइतबहादुर राई, वडा ३ का ८६ वर्षे नैनसिंह कटुवाल, ७५ वर्षीया रणजता थापा, १५ वर्षीया निशाना कटुवाल र १२ वर्षे निश्चित कटुवालको मृत्यु भएको छ । माङ्सेबुङ गाउँपालिका ६ का ५३ वर्षे हरिप्रसाद राई, २९ वर्षीया कविता राई, सूर्याेदय नगरपालिका–३ की ४९ वर्षीया नारायणीदेवी मोते, ३८ वर्षीया विष्णुमाया तामाङ र १७ वर्षे विशाल तामाङको पनि पहिरोमा परी ज्यान गएको छ । देउमाई नगरपालिका–२ की सरिता आचार्यको स्थानीय लुटिमाया खोलाले बगाएर र माई नगरपालिका–३ की २५ वर्षीया तेजमाया राईको स्थानीय बेतेनी जंगलमा रुखले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

विगत चार दिनदेखि बेपत्ता भएका इलामको माङसेबुङ गाउँपालिका दुई जना स्वास्थ्यकर्मी अझै भेटिएका छैनन् । माङसेबुङ गाउँपालिका वडा नम्बर ६ स्थित बाँझो स्वास्थ्य चौकीका इन्चार्ज ठाकुरप्रसाद याक्खा र सोही स्वास्थ्य चौकीमा कार्यरत अर्का स्वास्थ्यकर्मी सुमन राईलाई यो समाचार तयार पर्दासम्म भेटिएको छैन । सुरक्षाकर्मी र स्थानीय बासिन्दाले संकाश्पद क्षेत्रमा तीन दिनदेखि लगातार खोजतलाज गरिरहेको भएपनि हालसम्म फेला पार्न नसकिएको खोजतलासमा संलग्न मध्येका एक माङसेबुङ २ का वडाअध्यक्ष पुष्पराज कार्कीले जानकारी दिए । याक्खा र राई गएको मंगलबार बेलुकादेखि सम्पर्कविहीन बनेका थिए । इलामको माङसेबुङ गाउँपालिका र पाँचथरको मिक्लाजुङ गाउँपालिका ५ कुरुम्बाको संगम स्थल चिसोपानी पंचमी बजार नजिकैबाट मंगलबार दिउँसो करिब ४ बजेदेखि बेपत्ता भएका थिए ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका ५ कुरुम्बामा पहिरोमा परी घाइते भएका एक व्यक्तिको उपचार गर्न गएका उनीहरु न घाइतेकहाँ पुगे, न त घरमा नै फर्के । उनीहरु बिचैबाट वेपत्ता भए । घाइतेको परिवारले बोलाएपछि उनीहरु उपचारका लागि घटनास्थल प्रस्थान गरेका थिए । तर, घरबाट हिँडेको केही मिनेटपछि नै उनीहरु सम्पर्कविहीन बनेका थिए । बेपत्ता भएदेखि नै उनीहरुको खोजीकार्य जारी छ । नजिकै पहिरो गएको ठाउँ भेटिएकाले सोही पहिरोलाई लक्षित गरी खोजीकार्य तीब्र पारिएको थियो । तर त्यहाँबाट उनीहरुले प्रयोग गर्ने गरेका दुई थान छाता मात्र भेटिएको थियो ।


प्रकाशित : २०७८ कार्तिक ६ शनिबार