
६ कात्तिक, काठमाडौं ।आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आजबाट सुपर १२ का खेलहरू सुरु हुँदैछन् । संयुक्त अरब इमिरेट्स र ओमानमा संयुक्त रुपमा आयोजना भइरहेको खेलमा आजबाट सुपर १२ का खेलहरू सुरु हुन लागेको हो । हिजो भएको लिग चरणको खेलसँगै सुपर १२ को समिकरण पूरा भएको हो ।
हिजोको खेलमा श्रीलङ्का समूह विजेता बन्दै सुपर १२ मा प्रवेश गरेको छ भने आयरल्याण्डलाई पराजित गर्दै नामिबियाले पनि सुपर १२ मा स्थान सुरक्षित गरेको हो । सुपर १२ अन्तर्गत आजको पहिलो खेलमा अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेल हुनेछ ।
अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल दिउँसो ३ : ४५ मा दुबईस्थित सेख जायद क्रिकेट स्टेडियममा सुरु हुनेछ । यस्तै आजै हुने अर्को खेलमा इंग्ल्याण्ड र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ । दुबईस्थित दुबई क्रिकेट स्टेडियममा हुने यी दुई टोलीबीचको खेल साँझ ७ : ४५ मा सुरु हुनेछ ।