एमालेको वडा अधिवेशन आज हुँदै, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने

[sharethis-inline-buttons]

६ कार्तिक, काठमाडाैं ।  नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज देशभर वडास्तरका अधिवेशन हुँदैछ । वडा अधिवेशनलाई पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुहुनेछ । इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई प्रसारण गरिने कार्यक्रम रहेको छ ।

विधान महाधिवेशन सम्पन्न भएको तीन सातापछि एमालेले आज एकै दिन देशभरका ६ हजार सात सय ४३ वडाहरूमा अधिवेशन गर्न लागेको हो । एमाले केन्द्रीय कार्यालयले त्यसका लागि तयारी पूरा गरिसकेकामा हालैको बाढी पहिरोबाट प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुने जनाइएको छ ।

यस्तै यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो । एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ । चितवनमा हुने एमालेको महाधिवेशनमा निर्वाचन प्रयोजनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग गरिनेछ । एमालेको स्थायी कमिटीको हिजोको बैठकले महाधिवेशनका लागि नेता रामबहादुर थापाको संयोजकत्वमा गठित २१ सदस्यीय मूल व्यवस्थापन समितिको सहसंयोजकमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र सचिवमा विष्णु रिमाललाई तोक्नाका साथै समितिका केही सदस्य थप गरेको छ ।


प्रकाशित : २०७८ कार्तिक ६ शनिबार