
कौरव खत्री
६ कार्तिक, बागलुङ ।शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशद्वारा प्रधानाध्यापकहरूको नेतृत्व विकास तालिमको विस्तारित शाखा अमरसिंह कास्कीमा आजदेखि शुरु भएको छ ।
तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका शिक्षा,संस्कृति,विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले समाजको वौद्धिक व्यक्तिको रूपमा परिचित शिक्षकहरू रहेको र शिक्षकहरूको नेतृत्व प्रधानाध्यापकले गर्ने भएकोले समयानुकूल परिवर्तनलाई आत्मसात गर्दै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सदैव समर्पित हुनुपर्ने विचार राख्नु भयो ।
त्यस्तै मन्त्री श्रेष्ठले गुरूपूर्णिमाको प्रसङ्ग निकाल्दै मन्त्री भन्दा पनि गुरूहरूको महत्व बढी रहेको बताउनु भयो । प्रत्येक बर्ष मनाईने गुरूपूर्णिमा मन्त्रीको पुजा नभहुने तर गुरूहरुको पुजा हुने बताउँदै उहाँले शिक्षक पेसा अत्यन्तै सम्मानित भएको बताउनु भयो ।पेसाको गरिमा कायम राख्नका लागि पनि निरन्तर दत्तचित्त हुनुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।
यस्तै गण्डकी प्रदेश तालिम केन्द्रका प्रमुख नेपालहरि रानाभाटले तालिम लिइसकेपछि व्यवहारमा उतार्न सक्यौं र शैक्षिक गुणस्तरलाई उकास्न सक्यौं भने मात्र तालिम सफल र प्रभावकारी हुने बताउँदै त्यसमा अग्रसर हुनको लागि शुभकामना व्यक्त गर्नुभयो ।
शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि नेतृत्वलाई समयानुकूल तालिम उपलब्ध गराउँदै आइरहेको शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशले प्रदेश भित्रका प्रधानाध्यापकहरूलाई कोरोना कहरपछि प्रत्यक्ष सहभागितामा तालिम आज देखी शुरू गरिएको हो ।
साथै १० दिन सम्म सञ्चालन हुने उक्त तालिममा माध्यमिक तह अन्तर्गत पहिलो चरणमा २५ जना,दोस्रो चरण अन्तर्गत मा २२ जना सहभागि रहेका छन् ।
कार्यक्रम शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशका तालिम प्रमुख नेपालहरि रानाभाटको अध्यक्षता तथा विस्तारित शाखाका प्रशिक्षक रूद्रमणि पौडेलको स्वागत मन्तव्यसँगै शुरु भएको हो । कार्यक्रमको सञ्चालन भने शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशका शाखा अधिकृत विदुरहरि आचार्यले गर्नु भएको थियो ।