पूर्वन्यायाधीशहरूले भने: प्रधानन्यायाधीशले निकास दिनुपर्छ

[sharethis-inline-buttons]

काठमाडौं – पूर्वन्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका कारण न्यायालयको स्वतन्त्रता संकटमा परेको बताएका छन्। शुक्रबार एक विज्ञप्ति जारी गर्दै पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीश जबराले निकास नदिए उनीमाथि महाअभियोग प्रस्ताव अघि बढाउन समेत अपिल गरेको हो । उनीहरूले प्रधानन्यायाधीश जबराले नै न्यायपालिकाको संकट समाधानका लागि निकास दिनुपर्नेसमेत उल्लेख गरेका छन्।

‘न्यायपालिकाको गरिमा, विश्वसनीयता, जनआस्था र स्वतन्त्रता जोगाउनका लागि प्रधानन्यायाधीश स्वयंले निकास दिनु यथोचित हुन सक्दछ। यो वान्छनीय र अनिवार्य पनि देखिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘प्रधानन्यायाधीशबाट न्यायपालिकाको पक्षमा उदारता देखाइएन भने प्रधानन्यायाधीशको सम्बन्धमा उठेका सम्पूर्ण विवादहरुको निष्पक्ष छानविनका लागि प्रतिनिधि सभाले आफ्नो संवैधानिक कर्तव्य पूरा गर्न अग्रसर हुनका लागि हामी आह्वान गर्दछौं।’

प्रधानन्यायाधीश जबराको नाता पर्ने गैरसांसद गजेन्द्रबहादुर हमाल असोज २२ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाइएका थिए। तर, चौतर्फी आलोचनापछि हमालले शपथ लिएको तेस्रो दिनमा मन्त्री पदबाट राजीनामा दिएका थिए।


प्रकाशित : २०७८ कार्तिक ५ शुक्रबार