खानेपानीका हाकिमलाई दुर्व्यवहार गर्ने १७ जनाविरूद्ध मुद्दा दर्ता

[sharethis-inline-buttons]

५ कात्तिक, जनकपुर । खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहामाथि अमानवीय व्यवहार गर्ने १७ जनाविरूद्ध मुद्दा दर्ता भएको छ । बिहिबार दिउँसो कुशवाहालाई नियन्त्रणमा लिएर कुटपिट गर्दै अर्धनग्न बनाई शरीरमा हिलो छ्यापेर नगर परिक्रमा गराएको आरोपमा जनमत पार्टीका १७ जना कार्यकर्तामाथि मुद्दा दर्ता गराइएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार कर्मचारीलाई अभद्र व्यवहार र कार्यालयमा तोडफोड गर्ने अधिकांश सिरहा, सर्लाही र महोत्तरीका रहेका छन् । उनीहरू विरुद्ध सरकारी वकिलको कार्यालयमार्फत् मुद्दा दर्ता गराइएको प्रहरीले जनाएको छ ।

जनमत पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा सहित सर्लाही जिल्ला सदस्य दुर्योधन यादव, प्रेम किशोर यादव, केन्द्रीय सदस्य वीरेन्द्र महतो, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादव, नेताहरू संजय प्रधान, धनिकलाल कापर, विक्रमकुमार साह विरूद्ध मुद्दा दर्ता गरिएको छ । साथै अन्य नेताहरु कैलाशप्रसाद साह, दिनेश रजक साफी, रामकरण यादव, संजय कुमार सिंह, सञ्जय साह, महेश कुमार यादव, अमरनाथ साह र सुन्दर मण्डल विरूद्ध पनि मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

 


प्रकाशित : २०७८ कार्तिक ५ शुक्रबार