‘अर्ली ईलेक्सन’बारे गठबन्धनका नेताहरूसँग छलफल गर्ने प्रधानमन्त्री देउवाको भनाइ

[sharethis-inline-buttons]

५ कात्तिक, काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्ली ईलेक्शनको विषयमा सत्ता गठबन्धनका नेताहरूसँग छलफल गर्ने बताएका छन् । बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले पत्रकारहरूसँग कुरा गर्दै आफू एक्लैले भनेर नहुने भएकाले अर्ली इलेक्सनको विषयमा सत्ता गठबन्धनसँँग छलफल गर्ने बताएका हुन ।

अर्ली इलेक्सनको विषयमा पत्रकारहरूले सोधेको प्रश्नमा प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धनको सरकार छ, मैले एक्लैले भनेर हुँदैन, गठबन्धनले जे भन्छ, त्यही हुन्छ ।’

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सत्तारूढ गठबन्धनका केहि नेताहरूले बैशाखमा अर्ली इलेक्सन गर्नुपर्ने बताउँदै आएका छन् । विशेषगरी कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका केही नेताहरुले पहिले बैशाखमा संघको निर्वाचन गरेर मंसिरमा स्थानीय तह र प्रदेशको निर्वाचन गराउनुपर्ने मत राख्दै आएका छन् । यता प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत केही दिन अगाडि अर्ली इलेक्सनको कुरा उठाएका थिए ।

सुदूरपश्चिमको बाढी प्रभावित क्षेत्र अवलोकन गर्नेक्रममा आज कैलाली पुगेका प्रधानमन्त्री देउवाले एमसीसी नेपालको कानुनभन्दा माथि नभएको भन्दै पारित हुने समेत बताए ।पत्रकारसँगको कुराकानीमा उनले काठमाडौं फर्किएलगत्तै बाढीपहिरो प्रभावितलाई राहत प्याकेज घोषणा गर्ने बताएका छन् ।


प्रकाशित : २०७८ कार्तिक ५ शुक्रबार