खानेपानीका हाकिमलाई जनमत पार्टीका कार्यकर्ताले कालोमोसो दलेर नगर परिक्रमा गराए

[sharethis-inline-buttons]

जनकपुर : डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका कार्यालय प्रमुख राजेश कुशवाहालाई कालोमोसो दलेर नगर परिक्रमा गराएका छन् । प्रमुख कुशवाहाले भ्रष्टाचार गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले कालोमोसो र हिलो दलेर जनकपुरधाम नगर परिक्रमा गराएका हुन् ।

जनमत पार्टीले जनकपुरधाम उपमहानगरपालिका मेयरलाई कालोमोसो र हिलो दलेर नगर परिक्रमा गराउने कार्यक्रम राखेको थियो । तर, नगरप्रमुख भागेपछि खानेपानी कार्यालयका प्रमुखलाई नगर परिक्रमा गराएका हुन् । सोही क्रममा प्रहरीले एक दर्जन बढी कार्यकर्तालाई पक्राउ गरेको छ । जनमत पार्टीका केन्द्रीय सदस्य विपी शाहले खानेपानी आयोजनामा भ्रष्टाचार गरेकाले जनकारबाही गरिएको बताए । तराई मधेसमा भ्रष्टाचार व्यापक रूपमा बढिरहेको भन्दै त्यसलाई राज्यको तर्फबाट नियन्त्रण हुन नसकेपछि आफूहरू कारवाहीका लागि उत्रिएको उनको भनाइ छ ।

भ्रष्टाचारी र अत्याचारीका नाइकेहरू सप्तरी, धनुषा तथा सर्लाही लगायतका जिल्लातिर नै घुमिरहेको भन्दै उनले सबैलाई यसरी नै कारबाही गरिने बताए । जनमत पार्टीले त्यस्ता भ्रष्टाचारीलाई जहाँ पायो त्यहीं समातेर नगरपालिकाको ढल, बाढी, हिलो र कटानमा हिँड्न लगाइने समेत उनले बताए ।


प्रकाशित : २०७८ कार्तिक ४ बिहीबार