
४ कात्तिक, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका ४ का ५८ वर्षीय भीमबहादुर विश्वकर्माको दुर्गा मन्दिरमा पुजाको विषयलाई लिएर कुटपिट गरी हत्या गरिएको भन्दै दलित गैर सरकारी संस्था महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।महासंघका कार्यवाहक अध्यक्ष भक्त विश्वकर्माले विज्ञप्ती जारी गर्दै उक्त घटनाको घोर भत्र्सना गरेका हुन ।
‘उक्त घटना दलित समुदायमाथि हुँदै आएको जातीय विभेद, उत्पीडन, दमन, अन्याय, अत्याचार एवं हत्याहिंसाकै श्रृंखलाको पराकाष्ठ मात्र हैन नेपालको संविधान, प्रचलित कानून तथा मानव अधिकार सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय कानूनको समेत गम्भिर उलंघन हो ।’ विज्ञप्तीमा भनिएको छ ।
छुवाछूत र जातीय विभेदले केवल दलित समुदायलाई मात्र असर गर्ने नभई सिंगो राज्य र समाजलाई नै अधोगति तिर लैजाने विज्ञप्तिमा उल्लेख गरिएको छ । दलित समुदायमाथि हुने यस्ता बर्बर र क्रुर घटनाले जातीय भेदभाव तथा छुवाछुत मुक्त गरि दलित समुदायको सम्मानपूर्वक बाँच्न पाउने हक, मानव अधिकार, ज्यानको सुरक्षा र सम्मानको प्रत्याभूति गर्ने र संविधानप्रदत्त अधिकारहरुको ग्यारेण्टी गर्ने कार्यमा गम्भीर चुनौति दिएको समेत बताईएको छ । यस्ता अपराधलाई सरकारले शुन्य सहनशीलता अप्नाई गम्भिरताको रुपमा लिई दोषीलाई कडा भन्दा कडा कानूनी कारवाही गर्न महासंघले माग गरेको छ । साथै घटनाका बारेमा उच्चस्तरीय न्यायीक छानबिन समिति बनाइ घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।