बेमौसमी वर्षा पछिको बाढीपहिरोबाट देशभर ८८ जनाको ज्यान गयो

[sharethis-inline-buttons]

४ कात्तिक, काठमाडौं । विगत केही दिनदेखि परेको निरन्तरको अविरल बर्षा पछि आएको बाढीपहिरोबाट देशभर अहिले सम्म ८८ जनाको ज्यान गएको छ । विभिन्न जिल्लामा अझै ३० जना बेपत्ता रहेको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार ज्यान गुमाउने मध्ये अधिकांशको पहिरोका कारण मृत्युभएको छ । बाढी पहिरोमा परी सबैभन्दा धेरै पाँचथरमा २७ जनाको मृत्यु भएको छ । इलाम र डोटीमा १३/१३ जनाको मृत्यु भएको छ ।

यस्तै कालीकोट, बैतडी, डडेलधुरा, बझाङ, हुम्ला, सोलुखुम्बु, प्युठान, धनकुटा, मोरङ, सुनसरी, उदयपुरलगायत १५ जिल्लामा मानवीय क्षति भएको महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिनुभयो । विपद्बाट २० जिल्ला प्रभावित भएको छ । बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् । पाँचथरमा चारसहित विभिन्न जिल्लामा गरेर ३० बेपत्ता रहेको गृहमन्त्रालयले जनाएको छ ।

यसअघि बाढी पहिरोबाट बुधबार ६३ र मंगलबार १४ जनाको मृत्यु भएको पुष्टि भएको थियो । विगत केही दिनदेखि परेको बेमौसमी वर्षाले देशभर जनधनको ठूलो क्षति भएको छ । आजबाट भने मौसममा क्रमिम सुधार आउँदै जाने मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।


प्रकाशित : २०७८ कार्तिक ४ बिहीबार