
४ कात्तिक, काठमाडौं । विगत केही दिन देखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशका धेरै ठाँउको सडक अबरुद्ध भएको छ । बाढी र पहिरोका कारण बन्द भएका धेरैजसो सडक अबको दुईतीन दिनमा खुलिसक्ने सडक विभागले दाबी गरेको छ । आइतबार देखिको निरन्तर परेको वर्षाका कारण आएको बाढी र पहिरोले बन्द भएका सडकमध्ये धेरैजसो सडक दुईतीन दिन भित्र खुलिसक्ने सडक विभागका महानिर्देशक अर्जनु जङ्ग थापाले बताएका छन्।
उनका अनुसार सडक बन्द भएका ठाउँमा अहिले मेसिन र उपकरणहरु तयारी अवस्थामा राखिएको छ । कतिपय ठाउँमा खुलाउने तयारी भइरहेको छ भने कतिपय ठाउँमा सम्बन्धित डिभिजन कार्यालय मार्फत खुलाइ सकिएको छ । आइतवार पछि बन्द भएका १२ मध्ये चार ठाउँको सडक खुलाइ सकिएको विभागले जनाएको छ ।
कोसी राजमार्ग अन्तर्गत धनुकटामा लेती खोलामा ४० मिटर सडक कटान भएकोमा एक तर्फी खुलाइएको छ । यो सडक पूरै खुल्न भने समय लाग्ने छ । यस्तै राप्ती राजमार्ग अन्तर्गत सल्यानमा अरिङ्गलेफेदीमा बन्द भएको सडक एकतर्फी सञ्चालनमा आएको छ । सल्यानको कपुरकोट गाउँपालिकाले पहिरो सफा गरेपछि एकातर्फी गाडी चल्न थालेका छन् । वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमेरे फाँटमा पनि एकतर्फी सडक खुलेको छ । प्युठानको गनाहा चकचके खण्डमा खसेको पहिरो हटाएपछि अहिले भालुवाङ–लिवाङ रोल्पा माडीचौर दारबोट सडक खुलेको छ ।