देशभर बाढीपहिरोबाट ७७ जनाको ज्यान गयो, २७ बेपत्ता

[sharethis-inline-buttons]

काठमाडौं – देशैभर बाढी र पहिरोका कारण ७७ जनाको ज्यान गएको छ। गृह मन्त्रालयले उपलब्ध गराएको दिउँसो ३ बजेसम्मको विवरणअनुसार देशभर बाढीपहिरोमा परी ७७ जनाको मृत्यु भएको हो। बाढी र पहिरोमा परेर २७ जना बेपत्ता भएका छन् भने २२ जना घाइते भएका छन्।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै पहिरोमा पुरिएर पाँचथरमा २४ जनाको ज्यान गएको छ। छ जना घाइते भएका छन् भने त्यहाँ चार वटा घरमा पूर्णरुप क्षति भएको छ। त्यस्तै इलाममा पहिरोमा परी १३ जनाको मृत्यु भएको छ। त्यहाँ तीन जना बेपत्ता भएका छन। दुई जना घाइते भएका छन्। त्यहाँ तीन वटा घर पूर्णरुपमा क्षति भएका छन्।

त्यस्तै डोटीमा पहिरोमा पुरिएर १२ जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन भने छ घर पूर्णरुपमा क्षति भएका छन्। मन्त्रालयका अनुसार धनकुटामा सात जनाको पहिरोले पुरिएर मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्। एक घर पूर्णरुपमा क्षति भएको छ।

त्यस्तै हुम्लामा ६ जनाको मृत्यु भएको छ। एउटा घर पूर्णरुपमा क्षति भएको छ। पहिरोले बैतडीमा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्र। दुईवटा घरमा पूर्ण क्षति भएको छ।


प्रकाशित : २०७८ कार्तिक ३ बुधबार