मनराम–एसकाज पत्रकारिता पुरस्कार संखुवासभाका दुई पत्रकारलाई

[sharethis-inline-buttons]

मेघराज तामाङ

संखुवासभा – मनराम–एसकाज पत्रकारिता पुरस्कार संखुवासभाका दुई पत्रकारलाई प्रदान गरिएको छ । मंगलबार संखुवासभा काठमाडौं जर्नालिष्ट एसोसिएसन (एसकाज)ले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरेको हो ।

मनराम–एसकाज पत्रकारिता पुरस्कार २०७७ नयाँ पत्रिका संखुवासभा संवाददाता नवीन गुरूङलाई र मनराम–एसकाज पत्रकारिता पुरस्कार २०७८ पाख्रीबास एफएमका स्टेसन म्यानेजर प्रेमप्रसाद निरौलालाई प्रदान गरिएको हो । गुरुङ र निरौलाले नगद २५ हजार रुपैयाँ राशी र कदर पत्र सहित मनराम–एसकाज पत्रकारिता पुरस्कार प्राप्त गरेका हुन् ।

मनराम प्रतिष्ठान र एसकाजको संयुक्त पहलमा २०७३ मा स्थापित पुरस्कार हरेक वर्ष संखुवासभामा रहेर पत्रकारिता गर्दै आएका क्रियाशील एक जना पत्रकारलाई पुरस्कार प्रदान गरिँदै आएको छ । यस अघि संखुवासभा जिल्लामा रहि पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्याउने क्रियाशिल पत्रकारहरु गंगा विष्ट, इन्द्र गिरी, दीपेन्द्र शाक्य, कृष्णराज शाक्य मनराम–एसकाज पत्रकारिता पुरस्कारबाट पुरस्कृत भइसकेको एसकाज अध्यक्ष शंकर खनालले बताए ।

गत वर्ष कोभिड– १९ का कारण कार्यक्रम गर्न नसकिएकाले दुवै वर्षको पुरस्कार एकैपटक प्रदान गरिएको एसकाजका अध्यक्ष शंकर खनालले बताए ।

निरौलाले मोफसलबाट पत्रकारीता सुरु गरेका थिए
पाख्रिवास साप्ताहिकको प्रकाशक/सम्पादक तथा पाख्रिवास एफएमको स्टेसन मेनेजर निरौलाले वि.सं. २०५९ बाट पत्रकारीता सुरु गरेका हुन् । उनले संखुवासभाको चैनपुरबाट प्रकाशन हुने नव झुल्को साप्ताहिकमा खाँदबारीबाट रिर्पोटिङ सुरु गरेका थिए । चिचिला गाउँपालिका–४ माच्छेमा जन्मेका निरौला २०६२–२०६८ सम्म राष्ट्रिय सामाचार समितिका जिल्ला प्रतिनिधी भएर काम गरेका थिए । आर्थिक अभियान राष्ट्रिय दैनिकका समाचारदाता समेत भएका निरौला हाल जिल्लामा नै आफ्नै साप्ताहिक पत्रिका र एफएम सञ्चालन गरेर बसेका मोफसलका सक्रिय पत्रकार हुन् ।

गुरुङले भित्ते पत्रिकाबाट लेखन सुरु
खाँदबारी नगरपालिका–४ सेकाहामा जन्मेका नवीन गुरुङले वि.सं. २०५९ बाट नव अनमोल साहित्यीक भित्ते पत्रिकाबाट लेखन सुरु गरेका हुन् । वि.सं. २०६३ पछि गुरुङले गुरुङ जातीको रोधीं र थोम्यौं (दौतरी) पत्रिकामा संखुवासभाका गुरुङ गतिविधीका बारेमा लेख्न थालेका थिए । वि.सं. २०६४ खाँदबारीबाट प्रकाशन हुने मकालु सन्देश साप्ताहिकमा काम सुरु गरेका हुन् । उनी हाल नयाँ पत्रिका दैनिक र एवीसि टेलिभिजनका जिल्ला सम्वाददाता हुन् भने खाँदबारीबाट प्रकाशन हुने संखुवासभा एक्सप्रेस प्रकाशक÷सम्पादक भएर कृयाशिल रुपमा काम गरिरहेका छन् ।

 


प्रकाशित : २०७८ कार्तिक ३ बुधबार