
काठमाडौँ – बाढीपहिरो र डुबानमा परेर मुलुकका विभिन्न जिल्लामा ४८ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयबाट प्राप्त बुधबार मध्यान्ह १२ बजेसम्मको विवरणअनुसार अन्य ३१ जना बेपत्ता भएका छन्। विपद्मा परेर २३ जना घाइते भएका मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले जनाएको छ ।
महाशाखाकाअनुसार सम्पर्कविहीन व्यक्तिको सङ्ख्या धेरै रहेकाले मृत्यु अझै बढ्ने देखिएको छ । अहिलेसम्म विभिन्न जिल्लाबाट ७०० को उद्धार गरिएको छ । प्राप्त विवरणमा बाढीपहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको छ। विभिन्न स्थानमा २० वटा घरमा पूर्ण क्षति पुगेको छ। रातिदेखि नै वर्षा हुने प्रणाली नेपालको पूर्वी भेगतिर सरेसँगै कर्णाली र सुदूरपश्चिममा केही सुधार भएको छ।