सिरहामा वर्षाले धानबालीमा क्षति, किसान चिन्तित

[sharethis-inline-buttons]
सिरहा – सिरहामा लगातारको मुसलधारे वर्षाले धानबालीमा क्षति पुर्‍याएको छ । आइतबार रातिदेखि परेको वर्षाले जिल्लाका विभिन्न भागमा काटेर खेतमै रहेको अवस्थामा धानबाली डुबानमा परेको छ ।
जिल्लाको सिरहा नगरपालिका, औरही गाउँपालिका, बरियारपट्टी गाउँपालिका, नवराजपुर गाउँपालिका र भगवानपुर गाउँपालिका, मिर्चैया नगरपालिका, गोलबजार नगरपालिका, कर्जन्हा नगरपालिका, कल्याणपुर नगरपालिकासहितका क्षेत्रका खेतमा लगाइएको धानबालीमा क्षति पुगेको हो ।
वर्षाले खेतमा पानी जमेपछि काटेको धान कुहिने र त्यसले ठूलो क्षति पुगेको पुग्ने भएकाले यहाँका किसान चिन्तित बनेका छन् । धानसँगै पराल उत्पादनमा समेत असर पुगेको किसानहरुको भनाइ छ । उनीहरुले सरकारसँग क्षतिपूर्तिको मागसमेत गरेका छन् ।
जिल्लामा वर्षाले पुर्याएको क्षतिको पूर्ण विवरण प्राप्त नभएपनि करिब १० प्रतिशतसम्म उत्पादनमा कमी आउन सक्ने कृषि ज्ञान केन्द्र सिराहाका प्रमुख कृष्णदेव राउतले बताए । धान रोपाइँका बेला वर्षाले साथ दिँदा सतप्रतिशत रोपाइँ भएकाले धान उत्पादन बढ्ने अनुमान गरिएको थियो । सिरहा जिल्लामा कुल ७३ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये ५४ हजार हेक्टर धानवाली लगाइएको केन्द्रले जनाएको छ ।

प्रकाशित : २०७८ कार्तिक २ मंगलवार